चितवनः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएको अबस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघारदिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार वि. सं. २०७१ साल असोज ९ गते कामकै शिलशिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।
ठोरीको दिवानगर पोष्टमा कार्यरत उनलाई मोटरसाईकलमा हिडिरहेको अबस्थामा बगइको जंगलमा गोलि हानीएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको वरालले जानकारी दिनुभयो ।

प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो “पहिले हात्तीको छावाको नाउँ राजा, महाराजाका नाउँबाट राख्ने गरिन्थ्यो । यो पटक भने हामीले संरक्षणको काममा हिड्दा हिड्दै बीरगति प्राप्त गर्नुभएका हरित शहिदको सम्झनामा छावाको नाउँ राखेका छौँ ।”

नारायणी कलिको यो तेस्रो बच्चा हो । प्रजनन् केन्द्रमा चालु आर्थिक वर्षमा जन्मिएको यो दोस्रो छावा हो ।
गैंडा तस्करको पहिचान र पक्राउ गर्न चौधरी अव्वल थिए । सोही कारण तस्करले उनको हत्या गरेको बरालको भनाई छ । चौधरीको स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी वनाउने योजना रहेको बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !