
चितवनः कोरोना सङ्क्रमण वढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागु गरेको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा यही वैशाख ३१ गते राती सकीदै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा आज जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्ष सहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिनुभयो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिडडुल नगर्ने, अत्याबश्यक काममा हिड्नु गर्नु पर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सब, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्रह्रालय, फिटनेस, सेन्टर, जिमखाना, स्पा, स्वीमिङ्गपुल, व्युटीपार्लर, सैलुन, टेलरिङ्ग, फुटपाथ पसल जस्ता बन्द रहने लामिछानेद्धारा जारी आदेशमा उल्लेख छ । यस्तै होटल तथा रेष्टुरेन्टवाट टेक अवे वाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, बिद्यालय लगायतका सबै शैक्षिक संस्थाहरुमा भौतिक रुपमा उपस्थित भई हुने पठनपाठन तथा परिक्षा लगाएतका शैक्षिक गतिविधि नगर्न, विवाह, ब्रतवन्ध लगाएतका संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्न नपाईने, घरमा संञ्चालन हुने यस्ता कार्यमा वढिमा १० जना भन्दा वढि सहभागी नहुन समेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा वढी सहभागी नहुन, लामो तथा छोटो दुरीका सार्बजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगाएतका धार्मिक स्थलमा नित्य पुजा वाहेक जमघट नगर्न आदेश जारि गरिएको छ ।
आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन सबैलाई आग्रह गरिएको छ ।
यस्तै आदेशमा तरकारी, फलफुल, खाध्यन्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि विहान ६ वजे देखि ९ वजे सम्मका लागि समय तोकीएको छ । औषधि, पेट्रोलपम्प, दुध डेरी, दूरसञ्चार, इन्टरनेट, बिद्युत, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्ति सम्बन्धि सेवा, अत्याबश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आईतबार, मंगलबार र विहिवार मात्र तोकिएको मापदण्डको पालना गराई बाणिज्य बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी संञ्चालन गर्न नपाईने उल्लेख गरिएको छ ।
यो आदेशको पालना नगरे सङ्क्रमण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ वमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।