चितवनः राजधानी काठमाण्डौं सहित देशका मुख्य ठूला शहरका अस्पतालमा शैया भरिएपछि हेलिकप्टरमार्फत् यहाँ संक्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शैयाको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो ।

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी संक्रमित भएमा राख्नका लागि २० शैयाको वार्ड तयार गरेको छ ।

यी सबै अस्पतालको आफ्नो अक्सिजन प्लान्ट रहेका छन् । जसका कारण हालसम्म अक्सिजनको अभाव देखिएको छैन । पर्याप्त जनशक्ति भएका अस्पतालका अन्यत्रबाट संक्रमित यहाँ आउने क्रम बढेको हो ।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाण्डौंबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक जना संक्रमितलाई हेलिकप्टरबाट यहाँ ल्याईएको छ । आज मात्रै एक जना संक्रमितलाई काठमाण्डौंबाट हेलिकप्टर मार्फत् यहाँ ल्याईएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने संक्रमितको संख्या ठूलो छ । उहाँले भन्नुभयो “यसरी आउनेको एकिन तथ्यांक त छैन तर ठूलो संख्यामा काठमाण्डौं लगायतका ठूला शहरबाट संक्रमित यहाँ आएका छन् ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब थप बिरामी उपचार गर्न कठिन होला जस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौं ।”

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाईदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताउनुभयो । आज मात्रै मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) र पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यही व्यवस्थापन गरी जटिल मात्रै पठाईदिन अनुरोध गरेको जानकारी दिनुभयो ।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकप्टरमा समेत बिरामी आएको भन्दै उहाँले सामान्य अवस्थाका संक्रमित आएर शैया भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताउनुभयो । उहाँले जिल्लाका अन्य निजी अस्पतालले पनि आईतबारबाट संक्रमितको उपचार थाल्ने जानकारी दिनुभयो । अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीहरुको टिम तयार गरेर राख्न भनिएको छ ।

जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका अस्पतालमा ३५६ जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये चितवन मेडिकल कलेजमा १४९ जना, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा ५१ जना, क्यान्सर अस्पतालमा १ जना र अन्य अस्पतालहरुमा २४ जनाको उपचार भईरहेको कार्यालयले जनाएको छ ।

गएको २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २ जना, कलेज अफ मेडिकल साईन्सेजमा ३ जना, क्यान्सर अस्पतालमा १ जना र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !