चितवन, : चितवनका दुई वटा अस्पतालमा १८ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार मध्यान्ह ३ः३० बजेदेखि बुधबार बिहान ९ः२६ बजेसम्म ८ जनाको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा.किशोर अधिकारीले कान्तिपुर हेल्थलाई दिनुभएको जानकारी अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षिय पुरुषको आज बिहान २ः२ बजे, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षिय पुरुषको बिहान २ः५४ बजे, नवलपपरासीको गैंडाकोट नगरपालिकाका ५८ वर्षिय पुरुषको बिहान ७ः२४ बजे र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षिय पुरुषको बिहान ९ः२६ बजे मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिड बाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिनुभयो ।

यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर ४ का ६२ वर्षिय पुरुषको मंगलबार दिउँसो ३ः३० बजे, त्यसको १५ मिनेटपछि रुपन्देही बुटवलका ४० वर्षिय पुरुषको, साँझ ८ः४५ बजे मकवानपुरको हेटौंडा नगरपालिकाका ४३ वर्षिय पुरुषको र आज बिहान ५ः३५ बजे भरतपुर महानगरपालिकाका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये पाँच जना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । विगत २४ घण्टामा यति धेरै संख्यामा कोभिड संक्रमणबाट मृत्यु भएको जिल्लामा पहिलो हो ।

प्रतिक्रिया दिनुहोस !