चितवन : कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका दुई जना रहेका छन् भने एक जना बाराका रहेका छन् ।
तीनै जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ७४ वर्षिय वृद्धा रहेका छन् । मधुमेह, रक्तचाप र निमोनियाको उपचारका लागि वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा बैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः२१ वजे उनको मृत्यु भएको हो । यस्तै माडी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार राती १२ः४५ वजे मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा बैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई बैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ वजे मृत्यु भएको हो । यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !