
चितवनः चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैंडाको आक्रमणबाट दुई जना र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाईते भएका छन् । ती मध्ये गैंडाबाट १० जना, भालुबाट सात जना, बँदेलबाट ५ जना र हात्तीको आक्रमणबाट एक जना घाईते भएका हुन् ।
गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । हात्ती र गैंडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेका थिए । गत वर्ष वन्यजन्तुबाट ३४ जना घाईते भएको उहाँले जानकारी दिनुभयो । जसमध्ये गैंडा र बँदेलले १३÷१३ जना, मगर गोही र हात्तीले तीन÷तीन जना र भालु र अजिंगरले एक÷एक जनालाई घाईते बनाएका थिए ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु.१० लाख पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाईतेहरुको हकमा रु.२ लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था रहेको छ ।
अंगभंग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ । आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षहरुमा राहत ढिलो प्राप्त हुने समस्या रहेकोमा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिंदै आएको छ ।
यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाईतेहरुको राहत समेत उपलब्ध गराउँदै आएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार वटा जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वटा वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तुहरु बाहिर निस्कने र स्थानीयलाई दुःख दिने गर्दछन् । मानिसलाई आक्रमणका अतिरिक्त घरपालुवा पशुपन्छी, घर गोठ, बालीनालीमा समेत क्षति पु¥याउने गर्दछन् ।