चितवन, : सरकारले भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी हुन् ।

सरकारले सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सिटी निर्माण प्रक्रिया अगाडि बढाएको छ । १२ वटा स्मार्ट सिटीको योजना अघि बढाउदा भरतपुरलाई पूर्वग्रीही दृष्टिकोण राखेर हटाइएको भन्दै मेयर दाहालले आपत्ति जनाएकी हुन् । नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो। भरतपुरलाई स्मार्ट सिटी बनाउने मास्टर प्लान समेत बनिसकेको अवस्थामा भरतपुरलाई मात्रै पूर्वग्रीही दृष्टिकोण राखेर हटाइएको उनको भनाइ छ ।

‘३ बर्ष अघि देखिनै देशका १२ वटा सिटीहरूलाई स्मार्ट सिटी बनाउने सोचका साथ ६ महानगर मध्य भरतपुर महानगरपालिका एउटा र अरू बिभिन्न पालिकासहित १२ वटा स्मार्ट सिटीको छनोटमा परि भरतपुरको त स्मार्ट सिटी मास्टर प्लान पनि शहरी बिकास मन्त्रालयले बनाईसकेको सन्दर्भमा एउटै मात्र महानगरलाई पूर्वाग्रही दृष्टिकोण राखेर हटाईयो’, मेयर दाहालले भनिन् ।

मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाइयो भन्दै सरकारसँग जवाफ समेत मागेकी छिन् । उनले भनिन् – ‘यो कस्तो पूर्वाग्रह हो? के भरतपुर केन्द्र सरकारकै एउटा अंग हैन? किन बिभेद? के कारणले यसो हुन गयो? स्मार्ट सिटीको ठुलो सम्भावना बोकेको भरतपुरलाई किन अबसरबाट बञ्चित गरियो? यसको उचित जवाफ हामीलाई चाहियो।’ भरतपुरलाई स्मार्ट सिटी बनाउन आफुहरु लागिरहदा केन्द्रले बिभेदकारी व्यवहार गर्नु राम्रो नभएको उनको भनाइ छ ।

यस्तै उनले भरतपुरलाई स्मार्ट सिटी बनाइछाड्ने प्रतिवद्धता पनि जनाएकी छिन् । ‘धैर्य गरौं एउटा माघले जाडो जादैन पालो हाम्रो पनि आउने नै छ। भरतपुरलाई स्मार्ट सिटी बनाई छाड्ने छौं’, उनले फेसबुकमा लेखेकी छिन् । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माण र त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको थियो । त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सहर निर्माण गर्ने निर्णय गरिएको थियो । बाह्रवटा स्मार्ट सहरमध्ये ११ वटा नयाँ सहर विकास आयोजनाअन्तर्गत तथा भक्तपुरको गुन्डुलाई उपत्यका विकास प्राधिकरणअन्तर्गत स्मार्ट सहर निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस !