चितवन, : चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा अहिले छलफल चलिरहेको छ । दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण एकैदिन चितवनका १२१ जनामा देखिएपछि निषेधाज्ञा जारी गर्ने विषयमा जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठक बसेको हो ।

जिल्लामा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघेपछि अबको रणनीति तयार गर्न बुधबार बिहानैदेखि छलफल अगाडि बढाइएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

‘अहिले हामी छलफलमा छौँ, कोभिड–१९ नियन्त्रणको प्रयास गर्न हामी पूर्व तयारीमा छौँ’ लामिछानेले भने, ‘स्थिति चाहीँ हामीले अनुमान गरेको भन्दा अल्ली भयावह हुने जस्तो जोखिम देखियो ।’ प्रमुख जिल्ला अधिकारी लामिछानेले  कुराकानी गर्दै स्थिति कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै गएपछि अब कसरी जाने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

अबको रणनीतिबारे आज (बुधबार) दिउँसोसम्म एउटा निर्णय आउने लामिछानेले बताए । जिल्लामा निषेधाज्ञा जारी हुने सम्भावना कस्तो छ ? भन्ने  जिज्ञासामा लामिछानेले भने, ‘निर्णय नभइ अहिले मैले केही नभनी हालौँ । तर, छलफल त्यतैतिर उन्मुख छ । निषेधाज्ञा हुने सम्भावना प्रवल छ । दिउँसोसम्म निर्णय पनि आइपुग्छ ।’ कोभिड–१९ नियन्त्रणको लागि आफूहरुको एकल प्रयास मात्रै सार्थक नहुने भन्दै लामिछानेले आम नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

मङ्गलबार ४५८ जनामा देखिएको कोभिड–१९ को सङ्क्रमण बुधबार बिहान १२१ जना थपिदै ५७९ जनामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !