चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशुलीमा खस्दा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्वार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ वजे तिर पुलमा फलामको काम गर्दै गर्दा फलाम सहित मजदुर खसेका थिए । दुई जना त्रिशुलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्वार गरिएको उहाँले जानकारी दिनुभयो । उद्वार गरिएकाहरुलाई उपचारका लागि भरतपुर तर्फ ल्याइदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।

निर्माणाधिन सो पुलको केही भाग चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई. कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आँफुले पाएको बताउनुभयो । घटनाको विस्तृत बिबरण आइनसकेको उहाँको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानै देखि १८ जना मजदुर कामका लागि गएको र घटना पछि आँफु त्यस तर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर १, ठिमुरा र देवघाट गाउँपालिका वडा नम्बर ५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !