
चितवन: वन तथा वातावरण मन्त्री प्रेम आलेले नेपाललाई गैंडाको देश भनेर चिनाउन आबश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय गैंडा गणनाको सौराहामा आज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गैंडाको संरक्षण गरेर नेपाललाई गैंडाको देशको रुपमा परिचित गराउन आबश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “दुर्लभ एक सिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।” यसका लागि चोरि शिकारी हुने क्षेत्रमा कडाइ गर्न आबश्यक रहेको भन्दै उहाँले चोरी शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भन्नुभयो “बिभिन्न तस्करहरुबाट खागका लागि गैंडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानु पर्छ ।”
बाढी पहिरोका कारण गैंडा बिस्थापित हुने खतरा वढेको उहाँको भनाई थियो । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनिकरण गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैंडा हेर्नकै लागि नेपाल आउने गरेका छन् भन्नुभयो ।
औपचारीक कार्यक्रम अघि पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरु गरिएको थियो । मन्त्री आलेले आज विहान सिठ्ठि फुकेर गैंडा गणनाको शुभारम्भ गर्नु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा व्लक वनाएर आजबाट गणना सुरु गरिएको हो ।
सो अबसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, बन मन्त्रालयका सचिब डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपक कुमार खराल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा वराल, वागमती प्रदेश वन तथा बातावरण मन्त्रालयका सचिब सूर्य प्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले सन् २०१५ को गणना यता १ सय ६१ वटा गैंडा मृत अबस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार मृत अबस्थामा भेटिएका गैंडा मध्ये १ सय ५५ वटा गैंडा प्राकृतिक कारण र ६ वटा गैंडा चोरी शिकारीका कारण मरेका थिए ।
सोही समयमा चोरी शिकारीमा संलगन २३ जनालाई पक्राउ गरिएको छ । वरालका अनुसार चालु आर्थीक वर्षको साउन यता मात्रै निकुञ्जमा २६ गैंडा मरेका छन् । जस मध्ये चार वटा चोरी शिकारीले मारेको उहाँले बताउनु भयो ।
गणनाका लागि चितवनमा ४२, वर्दियामा ९ र शुक्लाफाँटामा ५ गरि ५६ हात्ती र चितवनमा २ सय, वर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन् । व्यवस्थापन सहयोग एबं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरवन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ । यसका अतिरिक्त हात्तीको दरवन्दीमा रहेका कर्मचारीहरु खटिएका छन् । दुई निकुञ्जमा गैंडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ ।
गैंडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेबाट र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु गरिदैं छ । चैत्र २९ गते सम्ममा चारवटै निकुञ्जमा गैंडा गणना सकेर बैंशाख पहिलो साता नतिजा सार्बजनीक गर्ने गरि तयारी गरिएको छ ।
हरेक ५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैंडा भेटिएका थिए ।