
चितवनः पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम सुरु गरिएको छ । मौरी पालन विकास कार्यक्रम अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ६ मा केन्द्र स्थापनाको काम सुरु गरिएको हो ।
प्रदेश सरकारको रु ५ लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा बिभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भईरहेको कार्यालयका प्रमुख डा. शिब रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले भौतिक संरचना निर्माणको काम भईरहेको छ ।” केन्द्र सञ्चालन अघि उपचार पद्धती सिकाउने र यसबाट हुने फाइदाको बिषयमा जनचेतना जगाउने काम गरिने छ ।
सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरी जन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोग लगायतको उपचार गर्न सकिन्छ । रुघा खोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “मौरीको घारमा आएको आबाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौंमा रहेको भन्दै उहाँले यसको बिस्तार गर्न सकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिनुभयो । मौरीलाई टोकाएर, मौरीको घारमाथि बिस्तार बनाएर सुत्दा, मानसिक रोगको उपचार गर्न सकिने छ ।
प्रदेश सरकारले पर्यटन प्रबर्धनका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो । मौरी पालक कृषकहरुलाई मह उत्पादन मात्र नभएर मौरीको बिभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो ।
मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी बिष लगायतका अन्य उत्पादनबाट बिभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।