
चितवनः भरतपुर महानगरपालिकाले कर अभियानको शुभारम्भ गरेको छ । लक्ष्य अनुसारको राजस्व संकलन गर्नका लागि आज कर अभियानको शुभारम्भ गरिएको हो ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको हो । कर अभियान घोषणाका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताउनुभयो । भरतपुर महानगरपालिका भित्रका विकासको काम चित्त बुझ्दो भइरहेको भन्दै उहाँले महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको जानकारी दिनुभयो ।
स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक रु एक अर्ब पु¥याउनु पर्ने लक्ष्य रहेको दाहालले बताउनुभयो । यो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको भन्दै उहाँले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमति अनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उहाँले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा महानगरको आन्तरिक आम्दानी रु ९२ करोड भएको उल्लेख गर्दै उहाँले यस आर्थिक वर्ष २०७७ ÷ ०७८ मा रु ९० करोड संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व संकलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ लगायतका संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।