चितवनः यही चैत ९ गतेबाट सुरु गर्न लागिएको राष्ट्रिय गैंडा गणनाको तयारी तिब्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरु गरिदैं छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना कार्य सुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमानै भइरहेको छ । चितवन र पर्सालाई एउटा व्लक बनाइएको छ । गैंडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्ज मध्ये बर्दियामा चैत १७ गतेबाट र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु गरिदैं छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ । गणनामा ४० वटा हात्ती प्रयोग गरिदैं छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ । कोशीमा दरवन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ ।

बरालका अनुसार ४० जना मुख्य गणक र बैंकल्पिक २० जनालाई गणनामा खटाइदैं छ । यसका अतिरिक्त हात्तीको दरवन्दीमा रहेका कर्मचारीहरु खटिने छन् । गणनामा खटिनेहरुका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइदैं छ । बरालले भन्नुभयो “गणनामा ध्यान दिनुपर्ने बिषयहरुमा छलफल संगै तालिम दिइने छ ।” गणनाका समयमा आवश्यक पर्ने सामाग्री खरिद, फारम छपाइको काम यतिवेला भइरहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोट संगै उनीहरुको वासस्थानको व्यवस्थापन लगाएतका तयारी भइरहेका छन् । निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “हामी अन्तिम तयारीमा छौं।” यहाँका दुई निकुञ्जमा गैंडा गणना गर्न २० दिन हाराहारी लाग्ने उहाँले बताउनुभयो ।

गैंडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदै छ । बिभागका दुई जना कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजीष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा बातावरण मन्त्री प्रेम आलेले गर्ने कार्यक्रम रहेको छ । सौराहामा कार्यक्रमको उद्घाटन गरेर प्रतापपुरबाट गणना थाल्ने वा प्रतापपुरमानै उद्घाटन गर्ने भन्ने बिषयको टुङ्गो भने लागि नसकेको उहाँले बताउनुभयो । १÷२ दिनमानै बिभागको उच्च स्तरको टोली समेत गणनाको तयारीका लागि चितवन आउँदै छ ।

आचार्यका अनुसार चैत्र २९ गते सम्ममा चारवटै निकुञ्जमा गैंडा गणना सकेर बैंशाख पहिलो साता नतिजा सार्बजनीक गर्ने गरि तयारी गरिएको छ । गत वर्ष चैत्र ११ गतेबाट गैंडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भए पछि स्थगन भएको थियो । दुई वर्ष अघि गैंडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा वजेट अभावमा गणना हुन सकेको थिएन ।
सरकारले गत वर्ष गैंडा गणनाका लागि रु १ करोड १० लाख बिनियोजन गरेको थियो । आचार्यका अनुसार गतवर्ष केही सामाग्री खरिद भएकाले यस वर्ष सरकारले रु ८० लाख बिनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), बिश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जेडएसएल नेपाल लगायतका संघ संस्थाको सहयोगमा गैंडा गणना गरिदैं छ ।

हरेक ५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैंडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरा लगायतको प्रयोग गरिन्छ । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा गैंडा गणना गरिदैं आएको थियो । गणना पछि यसको अबस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैंडा भेटिएका थिए ।

नेपालमा सन १९५० मा ८ सय, १९५५ मा ४ सय, १९६० मा ३ सय, १९६५ मा १ सय, १९७० मा १ सय ८, १९७५ मा १ सय ४७, १९८० मा ३ सय १०, १९८५ मा ३ सय १०, १९९० मा ३ सय ५८, १९९५ मा ४ सय ६६ रहेको बिभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरि सन २००० मा ६ सय १२, २००५ मा ४ सय ९, २०१० मा ४ सय ३५ हुँदै पछिल्लो गणना सन २०१५ मा ६ सय ४५ पुगेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !