
चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिंगे गैंडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।
केही वर्ष अघि वर्षादको समयमा बगेर भारत पुगेका १० वटा गैंडा उद्धार गरी ल्याईएको भए पनि अन्य केही गैंडा ल्याउन सकिएको छैन । त्यसपछिको वर्षहरुमा पनि बाढीले बगाएर गैंडा भारत पु¥याएको अनुमान छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैंडा रहेको अनुमान छ । आउँदो चैत ९ गतेबाट गैंडा गणना गरिंदै छ । सो पश्चात एकिन तथ्यांक आउने उहाँले बताउनुभयो । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।
सीमा क्षेत्रमा चुरे पहाड, खोला, जंगल र मानवबस्ती समेत रहेको छ । बरालले नाराणी नदी हुँदै र चुरे पहाडबाट समेत गैंडा भारत जाने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैंडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिन समेत कठिन हुने उहाँले बताउनुभयो । पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । उहाँले भन्नुभयो “गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।” गैंडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “भारतमा गैंडा जाने चिन्ता छ ।”
निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं. २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैंडाको संख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउनुहुन्छ । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनु पर्ने कँडेलको भनाई छ । उहाँले भन्नुभयो “निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।” राप्ती नदीमा भएको उत्खनन् र नदीको पानी खेतीमा सिंचाईका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उहाँको भनाई छ ।
नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । जसका कारण निकुञ्जका गैंडा पश्चिमतर्फ केन्द्रीत भएको उहाँको भनाई छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेपनि केही तल पुगेर उत्रिन सक्ने भएपनि सीमा क्षेत्रबाट बगेका गैंडा भने भारत पुग्ने गरेका छन् ।
कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैंडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याईएको थियो । पछिल्लो समय भारतले समेत गैंडा फिर्ता दिन आनाकानी गर्दै आएको छ ।
निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैंडाको संख्या बढीकाले भारत जाने सम्भावना पनि उत्तीकै रहेको बताउनुहुन्छ । एक दिनमा गैंडा ४० किलोमिटरभन्दा आवाजजावत गर्ने भन्दै उहाँले पूर्वी क्षेत्रको हेटौंडा, रौतहट र सर्लाहीसम्म गैंडा पुग्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “नेपाली क्षेत्रमा गएका गैंडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् । तर भारत पुगेका भने आउन असम्भव जस्तै छ ।”
नेपालकै विभिन्न ठाउँमा गैंडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
एउटा देशबाट अर्काे देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भएपनि यही उचित बासस्थानको व्यवस्थापन गर्न सके गैंडा भारत जानबाट रोकिने उहाँको तर्क छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैंडा भारत जान सक्ने बताउनुभयो । वर्षातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उहाँको भनाई छ ।
पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ गैंडा रहेका छन् । यसै वर्ष गणना गरिंदै छ ।
निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण वर्षेनी नदीमा गोही छोडिएको भए पनि संख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ ।