चितवनः चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती बिभिन्न कारणले मरेका छन् । चालु आर्थिक वर्षको साउन यता ती हात्ती वुढो भएर र बिभिन्न रोगका कारण मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, वेलसार पोष्टको बिक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शंकर प्रसाद मरेका हुन् । निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको बिक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शंकरप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।

श्रेष्ठले शंकरप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशंका गरिएको भए पनि पोष्टमार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताउनुभयो । बच्चा बिरामी भएको थाहानै ढिलागरि पाईएकाले बचाउन नसकिएको उहाँको भनाई छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकहरुसँग छलफल भईरहेको बताउनुभयो । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुवाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको उहाँले जानकारी दिनुभयो । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमुना लिएर पठाइएको छ । बरालले यहाँ परीक्षण नहुने भए पछि काठमाडौं पठाइएको बताउनुभयो । यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको बिषयमा बिशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाईएको थियो ।

हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरवन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन् केन्द्र रहेको छ । केन्द्रमा जंगली हात्ती ध्रवे, रोनाल्डो लगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालिमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षहरुमा निजी हात्ती मात्र प्रयोग गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !