
चितवनः जिल्लाको वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण र दुर्घटनामा परेर साउन यता २२ वटा बन्यजन्तु मरेका छन् । यसै अबधिमा १८ वटा जनावरलाई उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन वटा बँदेल र बाँकी चित्तल मरेका हुन । बास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौली स्थित पूर्ब पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन । उमेर पुगेर, बाघको आक्रमणबाट, एक आपसमा जुधेर पनि मरेका उहाँले जानकारी दिनुभयो ।
यसै अबधिमा बिभिन्न ठाउँबाट १८ वटा जनावारलाई उद्धार गरिएको छ । चित्तल, बँदेल, रतुवा, मृग, अजिंगर, जरायो, मलछाप्रो जस्ता जनावरहरुलाई उद्धार गरिएको हो । लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो । घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचार समेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचार पछि वथानमा छाड्ने गरिएको छ ।
गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वटा वन्यजन्तु मरेका थिए । जस मध्ये एउटा गैंडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अबधिमा १६ वटा जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुबै पट्टि वन र बिचमा राजमार्ग रहेको छ । जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ ।
जिल्लामा ४ सय ३१ वटा कवुलीयती वन, ९३ सामुदायीक वन, एउटा वरन्डाभार संरक्षण वन र पाँच वटा धार्मीक वन रहेका छन् । टिकौली पछि धेरै सवारी साधन आवत जावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडक खण्डको रामनगर क्षेत्र हो । सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडक मुनी पुलको व्यवस्था गरिएको छ । गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेको भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ । टिकौलीमा बिग्रिएका सिसि क्यामेरा मर्मत गर्न सकीएमा दुर्घटनामा कमि आउने उहाँले जानकारी दिनुभयो ।
यस अघि दाताहरुले क्यामेरा जडान गरिदिएको भए पनि मर्मत सम्भार हुन नसक्दा थन्किएको छ । सिसि क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षा संगै अपराधिक गतिबिधि रोक्न समेत सहयोग पुगेको थियो । जिल्लाका राष्ट्रिय वन अन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागु गरेमा दुर्घटनामा कमि आउने खनाल वताउनुहुन्छ ।