चितवनः प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नती कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित विमानस्थल अगाडि आज शुभारम्भ गर्नुभएको हो ।

बटुकहरुले स्वस्ती वाचन गरी प्रधानमन्त्री ओलीले शिलन्यास गर्नु भएको थियो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरी स्तरोन्नतीको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले केहीबेरपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले शुभारम्भ समारोहमा मन्तव्य दिने कार्यक्रम भने राखिएको थिएन ।

पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई ६ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले बि.सं. २०७९ साल फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु.१ अर्ब १२ करोड लागतमा स्तरोन्नती गर्न लागिएको हो ।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ ।

दुईलेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने अधिकारीले जानकारी दिनुभयो । सडक छेउका अतिक्रमित घर टहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली भूमिगत गरिंदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नती गरिंदै छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्रे हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिनुभयो । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने छ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ ।

पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकोले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ ।

यो क्षेत्र जिल्लाको घना बस्ती र बजार रहेको क्षेत्र हो । यसकै आशपासमा अधिकांश सरकारी कार्यालयहरु रहेका छन् । वाईपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ ।

विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डसँगै यसलाई पनि स्तरोन्नती गर्न लागिएको हो । यस क्षेत्रको सडक साघुरो हुँदा दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !