चितवनः पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।

पुलको उद्घाटन गर्दै नगर प्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “बृद्धबृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो गर्नुभयो, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण ग¥यौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

वनका अनुसार राजमार्गमा तीब्र गतिमा हिड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ । यसले सडक दुर्घटनामा कमी ल्याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख वन, उपप्रमुख बिमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काङ्ग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम वहादुर कुवर र उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

नगरपालिकाका इञ्जिनियर पंकज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, ३ मिटर चौडाईको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भुईमा आरसिसि गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उहाँका अनुसार रु.२ करोड ३९ लाख ९२ हजार २ सय ७० को लागतमा पुल निर्माण गरिएको हो ।

पुल निर्माणकालागि प्रदेश सरकारले रु.१ करोड सहयोग गरेको छ । सो रकममा नगरपालिकाले रु.१ करोड ६१ लाख ८७ हजार ५ सय ९९ थप गरी बोलपत्र आव्हान गर्दा रु.२ करोड ४२ लाख १४ हजार ५ सय ३३ मा हिम सगरमाथा कन्ट्रक्सनले सकार गरेको थियो । मूल्यांकनका क्रममा केही रकम घटेको उहाँले जानकारी दिनुभयो । वि. सं. २०७६ साल फागुन २ गते असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरि ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्त सम्मका लागि समय थप गरिएको थियो ।

रत्ननगर नगरपालिका पर्यटकीय क्षेत्र सौराहा सहित समेटिएको नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस !