चितवनः कोरोनापछि विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटनन प्रबद्र्धनमा लागेका छन् । घुमौ सौराहा अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् ।

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाईन्ट’ निर्माण गरेका हुन् । राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टूरेन्ट परिसमा सेल्फी प्वाईन्ट स्थापना गरिएको छ । जसले त्यहाँ गएका पर्यटकको ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु मध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाईन्टमा गएर फोटो खिच्ने गरेका छन् ।

सेल्फी प्वाईन्टमा फोटो खिच्दा पछाडि आकर्षक रुपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्वीर खिचाउने गरेका छन् ।

कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । मंसिरको पहिलो साता राखिएको सो प्वाईन्टमा अहिले सौराहाको चिनारीको रुपमा विकास भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ३ सय हाराहारी पर्यटकले सो सेल्फी प्वाईन्टमा फोटो खिच्ने गरेका छन् । उहाँले भन्नुभयो “सेल्फी प्वाईन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौ ।”

थोरै लगानीमा स्थापना गरिएको यस प्वाईन्टले पर्यटकको आकर्षण वढाएको व्यवसायीहरुले बताएका छन् । क्षेत्रीय होटल एसोसिएसन सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे आएका पर्यटकहरुलाई एक पटक त्यहाँ जाउँ जाउँ भन्ने बनाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यसले पर्यटकलाई सौराहा आयौं भन्ने अनुभूति दिलाउने काम गरेको छ ।” स्थानीय पत्रकार होमनाथ सापकोटाले पर्यटन विकासका लागि यसले मद्दत पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो पर्यटन क्षेत्रका लागि नयाँ आयाम भएको छ ।”

कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रीन थालेको व्यवसायीहरुले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटक दैनिक ६ सय जना हाराहारी रहेको घिमिरेले बताउनुभयो । घुम्नका लागि मात्रै आउने पर्यटक १ हजार ५ सय भन्दा बढी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !