चितवनः चितवन राष्ट्रिय निकुञ्जले सात वर्षपछि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य ईलाकाबाट सालको काठ तस्करीमा संलग्न रहेका अभियुक्तलाई पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २४ का जगतपुरका २७ वर्षिय सन्तोष विक रहेका छन् । निजले बि.सं. २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु.८ हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
घटनापछि उनी फरार रहेका थिए । निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाईएईको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीब्रता दिएको छ । गत महिना मात्रै गैंडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।






