
चितवनः नेपाली काङ्ग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सीनाको कोरोना सङ्क्रमणबाट मुक्त भएपछि निधन भएको छ । उच्च निमोनिया संगै स्वाशप्रस्वाशमा समस्या आए पछि उहाँलाई चितवन मेडीकल कलेजमा पुस २० गते भर्ना गरिएको थियो ।
कलेजका अनुसार सोमबार राती उहाँको निधन भएको हो । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परिक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । वि. सं. २००१ साल माघ २५ गते उहाँको जन्म भएको थियो ।
तिमिल्सीना साबिक नारायणपुर गाउ बिकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्ष, जिल्ला बिकास समितिको सदस्य रहेर सेवा गर्नु भएको थियो । श्रेष्ठका अनुसार तिमिल्सीना पार्टीको क्षेत्रीय सभापती, महाधिबेशन प्रतिनिधि, जिल्ला सदस्य लगाएतका बिभिन्न पदमा रहेर लामो समय देखि अनवरत पार्टीमा क्रियाशिल हुनुहुन्थ्यो । तिमिल्सिना रेडियो देवघाटको अध्यक्ष हुनुहुन्थ्यो । नेपाल रेडक्रश सोसाइटी लगाएतका सामाजीक संघ संस्थामा उहाँ सम्लङ्गन हुनुहुन्थ्यो । उहाँका दुई छोरा र दुई छोरी रहेका छन् ।
सभापति श्रेष्ठले उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षती पुगेको बताउनुभयो । उहाँको आजै निबास भरतपुर ५ वाट शवयात्रा सहित देवघाटमा अन्त्येष्ठि गरिदैं छ ।