चितवनः चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नु भएका सहयक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकाश हुनै लाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।
१८ वर्षसम्म रात–दिन, झरी–बादल केही नभनी संरक्षणमा जुट्नु भएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको छ । निकुञ्जको गोही प्रजनन् केन्द्रमा मात्रै होइन, उहाँले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गर्नुभएको छ । त्यही अनुभवलाई तीन दिने तालिमको आयोजना गरेर उहाँले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गर्नुभयो । यससँगै आज उहाँ अनिवार्य अवकाशबाट विदा हुनुहुनेछ ।
गोेहीको पालन पोेषणा, नियन्त्रण, नदीमा छोेड्ने बिधि लगायतका बिषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिईएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिनु भएको छ । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिईएकोे हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छोड्नु अघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजााँच, चिन्हसँगै छोड्ने बिधि प्रत्यक्ष्य रुपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन् केन्द्रका ११ वटा गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छोडिएको छ ।
सहभागीहरुलाई गोही नियन्त्रणमा लिएर नदीमा छोड्नेसम्मका बिधि सिकाइएको थियो । यसैगरि राप्ती नदीका दुई वटा गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जाल अड्कीएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने बिधि सिकाइएकको थियो । कसरामा रहेकोे गोही प्रजनन् केन्द्रमा हुर्र्काएका गोहीलाई नदीमा छाडिदैं आएको छ । हालसम्म सो प्रजनन् केन्द्रमा हुर्काएका १ हजार ५ सय ८० गोही बिभिन्न नदीहरुमा छोडी सकिएको छ । तालिममा १७ जना गेम स्काउट सहभागी भएका थिए ।
प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डा र नदीहरुमा संकलन भएका अण्डालाई प्रजनन् केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिदैं आएकोे छ । खड्काका अनुसार हाल प्रजनन् केन्द्रमा ५ सय ८७ वटा गोही रहेका छन् । यस वर्ष मात्र ६५ वटा गोही नदीमा छोडिसकिएको छ ।
सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।






