चितवन, १९ पुस । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र विभागका सहायक इकोलोजोष्टि हेमराज आचार्य सदस्यसचिव रहनु भएको छ । केही वर्ष अघिदेखि नै टिकौलीमा कृष्णसार ल्याउने विषयमा बहस शुरु भएपछि ठोस काम हुन सकेको थिएन ।
संयोजक आचार्यका अनुसार यसै साता प्रतिवेदन दिने गरी काम भइरहेको छ । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ल्याउन उपयुक्त देखिएमा लाग्ने खर्च, ल्याउन सकिने सङ्ख्या, ठाउँ तयार पार्न लाग्ने खर्च र समय, ल्याएपछिको व्यवस्थापन कसले र कसरी गर्ने लगायतका विषयमा अध्ययन भइरहेको छ ।
सो ठाउँमा कम्तीमा २० हेक्टर जमीन कृष्णसारका लागि छुट्याउन सकिने अनुमान गरिएको छ । ल्याउन उपयुक्त देखिएमा बर्दियाको खैरापुर वा शुक्लाफाँटाबाट स्थानान्तरण गरी ल्याइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सम्भावना रह्यो भने यो ठाउँ दोस्रो स्थानान्तरण हुनेछ ।” यसअघि खैरापुरबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । सङ्ख्या हेरेर दुवै ठाउँबाट पनि ल्याउन सकिने उहाँले बताउनुभयो ।
आचार्यले कृष्णसार स्थानान्तरण गर्न सकिएमा प्रजाति विविधीकरणसँगै वंश संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यससँगै यहाँको पर्यटन प्रबद्र्धन र खाली बसेको जमीनको उपयोग हुने उहाँ बताउनुहुन्छ । रत्ननगर नगरपालिकाले पनि कृष्णसार ल्याउने विषयमा पहल गरिरहेको छ । नगरपालिकाका प्रमुख नारायण वनले अन्य भौतिक संरचना निर्माण गर्न नमिल्ने सो ठाउँमा कृष्णसार ल्याउँदा यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनन शुरु भएको छ, आगामी फागुनसम्ममा ल्याउने गरी तयारी गरेका छौं ।”
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले समितिले अध्ययन थालेकाले प्रतिवेदनको आधारमा काम अघि बढ्ने बताउनुभयो । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा कृष्णसार थपिएमा यहाँको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।(रासस)