नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको सुनवलमा स्थित लुम्बिनी चिनी उद्योगका संचालक मनोजकुमार अग्रवाललाई विहीवार साँझ प्रहरीले गिरफ्तार गरे पछि उखु किसानको बाँकी रहेको रकमको भुगतानी शूरु भएको छ ।

लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट विहिवार साँझ प्रहरीले गिरफतार गरी नवलपरासी ल्याएको थियो । जिल्ला प्रशासन कायाएलयमा शुक्रवार उद्योगी अग्रवालले एक हप्त भित्रमा उखु किसानहरुको बाँकी रकम भुगतानी गर्ने लिखित सहमति गरे पछि अग्रवाललाई छाडिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनु भएको छ ।

एक हप्ता भित्रमा किसानहरुको उखुको बाँकी रकम भुगतानी गर्ने लिखित सर्तमा अग्रवाल छुटे पछि शुक्रवार नै केही किसानको रकम भुगतानी गरेर भुगतानीको काम शुरु भएको बताईएको छ ।
उद्योगपति मनिष अग्रवालको नामा रहेको यो उद्योग मनिष अग्रवालको मृत्यु भए पछि पछिल्लो दुई वर्ष देखि बन्द अवस्थामा रहेको थियो ।

अग्रवाल परिवारको सम्पति भाईभाईमा बांडफांड गर्दा लुम्बिनी चिनी उद्योग मनोज अग्रवालको भागमा परे पछि उद्योग पुन ः संचालनको तयारी समेत रहेको अवस्थामा प्रहरीले मनोज अग्रवाललाई गिरफतार गरि किसानको रकम चुक्ता गर्न दवाव दिएको हो ।

उद्योगले किसानको बाँकी रकम भुगतानी गर्ने प्रतिबद्धता गरेका पहिलो दिनमा नै एक करोड १० लाख रुपियाँ भुक्तानी भएको लुम्बिनी चिनी उद्योगका प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनु भएको छ ।

उद्योगले पुस २४ गते भित्र सबै किसानहरुको बाँकी रकम भुगतानी गरी सक्ने गरी भुगतानीको काम शुरु गरेको बताईएको छ । ई बैकिङ मार्फत सिधा किसानको बैंक खातामा पैसा भुगतानी गरिएको छ ।

लुम्बिनी चिनी उद्योगले उखु किसानहरुको आठ करोड रुपियाँ भुगतानी गर्न बाँकी रहेको अवश्थामा उखु किसानहरु आन्दोलनका लागि काठमाडौ पुगेका थिए ।

पश्चिम नवलपरासीको कुडियामा रहेको ईन्दिरा सुगर मिलले पनि किसानको पाँच करोड रुपियाँ भुगतानी गर्न बाँकी रहेको छ । ईन्दिरा सुगर मिलका मालिक राकेश अग्रवाल अहिले सम्पर्कमा नरहेको र प्रहरीले उनलाई पनि गिरफतार गर्न निगरानी बढाएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले बताउनु भएको छ ।

पश्चिम नवलपरासीमा १२ सय उखु किसानहरुले दुई चिनी उद्योगबाट गरि १३ करोड रुपियाँ भुगतानी पाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !