चितवन, १५ पुष । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरेको छैन । बरु उल्टै झनै कडा प्रकारको नयाँ प्रजातीको भाइरस विश्वका बिभिन्न मुलुकमा देखा पर्न थालेको छ । नेपालमा पनि उक्त नयाँ प्रजातीको भाइरस भित्रिने सक्न जोखिम रहेको विज्ञहरुले बताइरहेका छन् ।
पहिलेको भन्दा कडा प्रकारको भाइरसको जोखिम बढीरहेकै बेला चितवनमा भने स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ देखिएको छ । बिशेष गरी सार्वजनिक स्थलहरुमा न आवश्यक सामाजिक भौतिक दुरी कायम भएको पाईन्छ न त मास्कको प्रयोग नै । स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ देख्दा कोरोनाको जोखिम पूर्ण रुपमा अन्त्य भए झै भान हुन्छ ।
सडकमा गूड्ने सार्वजनिक सवारीदेखि, बजार, सब्जीमण्डी, सार्वजनिक रुपमा गरिने कार्यक्रमहरुमा कुनै पनि किसिमको स्वास्थ्य मापदण्ड पालना भएको पाइदैन । अहिले बिभिन्न बिषयलाई लिएर विरोध तथा आन्दोलनका कार्यक्रमहरु दैनिक रुपमा भइरहेका छन् । ति कार्यक्रमहरुमा पनि न भौतिक दुरी कायम भएको पाईन्छ न त मास्कको प्रयोग नै । पार्टी प्यालेसहरु खुलेसँगै धमाधम कार्यक्रमहरु भइरहेका छन् । सयौंको संख्यामा मानिसहरुको उपस्थितीमा पार्टी प्यालेसहरुमा हुने कार्यक्रममा कुनै प्रकारको सावधानी अपनाएको पाइदैन ।
कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउने राजनीतिक दलहरु नै अहिले पुरै नियन्त्रण भइसकेको झै कोरोनालाई वेवास्ता गर्दै जुलुस, प्रदर्शन, आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् । उता सत्तारुढ दल र दलका कार्यकर्ताहरु पनि कोरोनाको जोखिम नै छैन झै गरी देशभर नै त्यस्ता कार्यक्रमहरु गर्दै आइरहेका छन् ।
पहिलेको भन्दा ५६ प्रतिशत बढी संक्रामक भाइरस देखा परिरहेकै बेला भइरहेको यस्ता हेलचेक्र्याइँले जोखिम झनै बढेको छ । थप सतर्कता अपनाउन पर्ने अवस्थामा आम नागरिक तथा जिम्मेवार तहबाटै भइरहेका यस्ता हेलचेक्र्याइँका गतिविधिले अवस्था झनै असामान्य हुने र ठुलो मुल्य चुकाउनु पर्ने आँकलन गरिएको छ ।
लकडाउन र निषेधाज्ञाको समयमा मास्क नलगाइ हिंड्नेलाई प्रशासनले कारबाही र जरिवाना गर्ने गरेको थियो । तर मानिसको भिड भाड कम हुने बेला मास्क नलगाउनेलाई कारबाही गर्ने प्रशासन अहिले भिडभाड बढ्दा भने यस्ता बिषयलाई वेवास्ता गरिरहेको छ ।
चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा प्रशासनले निरन्तर निगरानी गरिरहेको दाबी गर्छन् । तर उनको दाबी व्यवहारिक रुपमा भने लागु भएको पाइनदैन । प्रशासनले न आम नागरिकलाई सचेत गराएको पाईन्छ न त अटेर गर्नेलाई कारबाही नै । जोखिमलाई मध्यनजर गर्दै तत्काल कदम चाल्नु पर्ने अवस्थामा उनी यो बिषयलाई प्रशासन कार्यालयको छलफल तथा राजनीतिक दलहरुसँगको बसाइमा उठाउने बताउछन् ।
चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ मास्क नलगाउनेलाई प्रहरीले कारबाही गरिरहेको बताउछन् । पहिले जस्तो दैनिक रुपमा सडकमै प्रहरी परिचालन नगरिए पनि समय समयमा सचेत तथा कारबाही गरिरहेको उनको दाबी छ । “हामीले पहिले जस्तो सधैं प्रहरी परिचालन गरेर गर्न चाँही सकेका छैनौं उनले भने, प्रहरीको अरु पनि धेरै महत्वपूर्ण काम हुन्छ, सधैं त्यसैमा मात्र लाग्न सम्भव हुँदैन ।”
तर उनले दाबी गरे झै सडक तथा बजारमा मानिसहरुलाई मास्क नै नलगाई हिड्दा पनि प्रहरीले सचेत तथा कारबाही गराउने बिषयमा कुनै चासो भने दिएको छैन । यस्तै एसपी गुरुङ सधैं प्रहरीले कारबाही गरिरहने भन्दा नागरिक आँफै सचेत हुनुपर्ने बताए । थप संक्रामक भाइरसको जोखिम बढेकोले सचेतना र कारबाहीलाई अझै प्रभावकारी बनाइने उनले बताए ।
अस्पताल रोड भरतपुरमा साथीहरुको समुहमा हिडिरहेका एक युवक धेरैले मास्क नलगाएकोले आफुले पनि नलगाएको बताउछन् । “अहिले खास्सै धेरै जनाले मास्क लगाएकै छैन, मैले पनि त्यही भएर नलगाएको हो उनले भने, अहिले खास्सै धेरैलाई कोरोना लागेको पनि छैन ।” मास्क नलगाउदा प्रहरीले कारबाही गर्छ भन्ने डर लाग्दैन त भन्ने प्रश्नमा उनी उल्टै प्रति प्रश्न गर्छन्, अहिले नि कारबाही गर्छ र ? खोइ मलाई थाहा भएन ।”
सोही स्थानमा भेटिएका अर्का एक युवा मास्क लागाउदैमा कोरोना सर्दैन भन्ने नहुने भएकोले आफुले पनि नलगाएको बताउछन् । “मास्क लागाउदैमा कोरोना लाग्दैन भन्ने हुँदैन जस्तो लाग्यो उनले भने, खोइ २-३ वटा मास्क लगाउनेलाई पनि कोरोना भएकै छ ।” अर्का एक युवाले भने मास्क घरमै बिर्सिएको बताए ।
जोखिम कायमै छ, व्यवहार परिवर्तन हुन जरुरी छ : स्वास्थ्य कार्यालय
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी जोखिम अझै कायमै रहेकोले हेलचेक्र्याइँ गर्नु नहुने बताछन् । ब्यापार, व्यवसाय खुल्दै गएको र सार्वजनिक कार्यक्रम समेत हुँदै गइरहेकोले झनै जोखिम बढेको उनको भनाइ छ । जोखिम कम गर्नका लागि नागरिकको व्यवहार परिवर्तन हुन जरुरी रहेको उनी बताउछन् ।
विश्वका बिभिन्न मुलुकमा नयाँ प्रजातीका थप संक्रामक भाइरस देखा परेकोले झनै सतर्कता अपनाउन पर्ने जरुरी रहेको उनको भनाइ छ । जेनेटिक मोडिफिकेसन यस भाइरसको बिशेषता नै भएकोले नेपालमै पनि नहोला भन्न नसकिने तिवारी बताउछन् । “बिभिन्न मुलुकमा झनै संक्रामक भाइरस देखिएको भन्ने कुरा आएको छ उनले भने, जेनेटिक मोडिफिकेसन यसको बिशेषता नै भएकोले यहाँ पनि नहोला भन्न सकिन्न । कुन रुपमा चलिरहेको छ भन्ने हामीलाई थाहा नभएको हुन सक्छ । उनिहरुले अध्ययन गरे पत्ता लगाए , हामीलाई थाहा नभएको हुन सक्छ ।”
नेपालमा कोरोनाविरुद्धको खोप कहिले आउने भन्ने बिषय अझै टुङ्गो नलागेकोले नागरिक आँफै सचेत भएर सावधानी अपनाउनु बाहेको बिकल्प नभएको उनको भनाइ छ । खोप आए पनि नयाँ प्रजातीको भाइरसका त्यसको प्रभावकारिता देखिने नदेखिने निश्चित नभएकोले स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे । “अहिले नै न हामी कहाँ खोप आउने टुङ्गो छ, आउँछ आउँदैन पनि भन्न सक्दैनौं, आए पनि नयाँ भाइरसमा काम गर्ने नगर्ने भन्न सकिन्न उनले भने, आत्तिहाल्ने होइन तर हामी सतर्क हुन चाँही पर्छ र हामीले यसका लागि आग्रह गरिरहेका पनि छौं ।”
नयाँ प्रजातीको भाइरस नेपालमै पनि हुन सक्छ, हेलचेक्र्याइँ नगरौं : डा प्रमोद
बेलायत लगायत विश्वका बिभिन्न देशमा देखा परेको नयाँ प्रजातीको कोरोना भाइरस नेपालीमा पनि हुन सक्ने भएकोले हेलचेक्र्याइँ गर्न नहुने भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल प्रमुख फिजिसियन डा. प्रमोद पौडेल बताउछन् । नयाँ प्रजातीको कोरोना भए नभएको बारे पत्ता लगाउन जेनेटिक सिक्वेन्सिङ गर्नुपर्छ । नेपालमा अहिले जेनेटिक सिक्वेन्सिङ गर्ने प्रविधि नभएकोले नयाँ प्रजातीको कोरोना भए नभएको बारे थाहा नभएको उनको भनाइ छ ।
“नेपालमा नयाँ प्रकारको प्रजाती छ कि छैन भने पत्ता लगाउने प्रविधि छैन, उनले भने त्यसका लागि जेनेटिक सिक्वेन्सिङ गर्नुपर्छ, हामी कहाँ त्यस्तो भएकै छैन । तर नेपालमा पनि नयाँ प्रजातीको भनिएको भाइरस नहोला भन्ने सकिन्न ।” जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या हुन सक्ने उनको भनाइ छ । परीक्षणको दायरा घट्दा संक्रमण दर कम देखिएकोले कोरोना पुरै नियन्त्रण आएको भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ ।