चितवन : महिलाहरुद्धारा सञ्चालित स्पन्दन नेपालले पूर्वी चितवनको कालिका नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण गरेको छ । चितवनको विकट पहाडी गाउँ कालिका १० सिद्धीको देउजरमा रहेको उक्त विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई मंगलबार न्यानो कपडा र स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्पन्दनले विद्यार्थीहरुलाई स्वीटर र उनको टोपी, औषधी र शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह चेपाङले सहरी र सुविधायुक्त ठाउँबाट निकै पर रहेको देउजरमा आएको यो सहयोग निकै महत्वपुर्ण भएको बताए ।
विद्यालयकी प्रधानाध्यापक जमुना कोइरालाले कमजोर आर्थिक अवस्थामा कारण विद्यार्थीहरुले जाडोमा न्यानो कपडा लगाउन नपाउने बाध्यता रहेको बताइन् । “यहाँका विद्यार्थीको अभिभावकहरुको आर्थिक अवस्था निकै कमजोर छ, यसकारण विद्यार्थीहरुले जाडोमा न्यानो कपडा लगाउन नपाउने बाध्यता छ कोइरालाले भनिन्, पढ्न त बस्छन् तर जाडोेले सिउसिउ गरेको सुनिन्छ । धेरै जाडो बढे विद्यालय नै आउँदैनन् । त्यसैले यो सहयोग सानो हैन ठुलो हो ।”
कार्यक्रम संयोजक अनिता खनालले संस्थाले यसअघि सिद्धिकै रन्तेस र माडीमा यस्तो कार्यक्रम गरेको र देउजरक विद्यार्थीहरुलाई न्यानो कपडा अत्यावश्यक रहेको खबर पाएपछि यसपटक उक्त यहाँ आएको बताईन् । संस्थाका उपाध्यक्ष गोमा भट्टराई र कोषाध्यक्ष मन्जु पाठकले संयुक्त शुभकामना मन्तब्य राखेको स्पन्दन नेपालकी अध्यक्ष इन्दिरा भुषालको सभापतित्वमा सम्पन्न भएको हो ।
कपडा र स्वास्थ्य तथा शैक्षिक सामाग्रीका लागि संस्थाका निबर्तमान अध्यक्ष बिमला दाहाल, शुभचिन्तक ईश्वर शर्मा, सबिना शर्मा, सुरज मरहट्ठा, राम प्रसाद पौडेल र कार्यक्रम संयोजक खनालले आर्थिक सहयोग गरेका हुन्। स्पन्दनले लामो समयदेखि जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा वितरण गर्दै आएको छ ।