चितवनः नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ९ का ५६ वर्षिय केशर वहादुर तामाङ, र ३२ वर्षिय शुक्र वहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई माडीको बाँदरझुलाबाट पक्राउ गरिएको बटुकदल गणका प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार उनीहरुलाई ३ सय ७५ ग्राम अखेटो पार, ३ सय ग्राम सुकुटी, भरुवा वन्दुक र नाइलनको जाल सहित पक्राउ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गरेको श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । गएको मंसिर २५ गतेबाट निकुञ्ज प्रशासन र नेपाली सेनाले संयुक्त रुपमा सुरु गरेको महाहन्टका क्रममा चित्तल मारि फरार रहेका एक जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ९ का शन्तलाल प्रजा रहेका छन् ।

महाहन्ट अभियानका क्रममा निकुञ्जको स्विप अप्रेशन, सम्बेदनशिल इलाकामा पट्रोल, एम्बुस जस्ता गतिबिधि वढाइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा चालु आर्थिक वर्षमा तस्करले चारवटा गैंडा मारे संगै बिशेष नाकाहरुमा निगरानी वढाइएको छ भने सुरक्षा उच्च वनाईएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाको सुरक्षा र चोरी शिकारीका घटना नियन्त्रणका लागि सेनाले विभिन्न अपरेसनका कारवाही सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !