चितवनः साहित्यकार हरिहर सविताको दोस्रो वार्षिकीको अवसर पारेर आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी हरिहर सविता विशेषाङ्क नौलो राँको लोकार्पण गरिएको छ ।
साहित्य संगम चितवनले आयोजना गरेको कार्यक्रममा पुस्तकाकार नौलो राँको पत्रिका अंक ११ विमोचन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि एवं दिवंगत हरिहर सविताकी धर्मपत्नी लीला रेग्मी, साहित्यकार एवं पत्रकार रेशम विरही, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।
हरिहर सविताको व्यक्तित्व र कृतित्वबारे बोल्दै साहित्यकार एवं पत्रकार रेशम विरहीले साहित्यकार सविता आफ्नो २०१६ सालदेखिको साथी र मित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरिहर सविता परिवर्तनको चाहना राख्ने विद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँको वैचारिक धार प्रस्ट थियो ।’
हरिहर सविताका भान्जा श्रीप्रसाद दवाडीले कम्युनिष्ट आन्दोलनमा सक्रियतापूर्वक लागेका सविता नौ महिना सैनिक हिरासतमा परेको स्मरण गर्नुभयो ।
कार्यक्रममा साहित्य संगम चितवनका उपाध्यक्ष बाबुराम पाण्डे, साहित्यकार शसिकीरण रेग्मी, भरतपुर महानगरपालिका ८ का अध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साहित्य संगम चितवनका संस्थापक हरिहर सविताका सात वटा कृति प्रकाशित भएका छन् । २००९ साल जेठ २७ गते लमजुङको अलैँचेमा जन्मिएका हरिहरको २०७५ साल पुस ७ गते भरतपुर ७, कृष्णपुरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !