चितवनः जिल्ला प्रशासन कार्यालयमा सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रबास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रबासी कामदार दिवसको अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।

केन्द्रको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख रेनु दाहालले बैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनिकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । बैदेशिक रोजगारमा गएर वेवारिसे बन्न पुगेकाहरुलाई यसले सहयोग गर्ने उहाँको भनाई थियो ।

बिदेशमा जान लागेका र गएर फर्किएकाहरुलाई यस केन्द्रले मनोबैज्ञानिक परामर्श दिएर स्वदेशमानै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उहाँले विश्वास लिनुभयो ।

महानगरले विदेशबाट स्वदेश फर्किएकाहरुको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा रहेको सो अवसरमा जानकारी दिईयो । यस कार्यक्रम अन्तर्गत रु ५ लाखसम्म ऋण लिएर व्यवसाय गर्नेहरुका लागि सम्पूर्ण व्याज महानगरले व्यहोर्ने र रु २५ लाखसम्म ऋण लिएकाहरुका लागि २ प्रतिशत व्याज महानगरले वेहोर्ने प्रमुख दाहालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिनुभयो । अहिलेको समयमा वैदेशीक रोजगारमा जानेहरुका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण पाटो रहेको उहाँले उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्, भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओमप्रकाश पोख्रेल, रत्ननगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोविन्द भट्टराई, मेड नेपालका बागमती प्रदेश अध्यक्ष बाबुराम केसी, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

सुरक्षित आप्रवास परियोजना अन्तर्गत जिल्लामा केन्द्रले चारवटा स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !