चितवनः जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा र होम आईसोलेसनमा रहेको समयमा मृत्यु हुनेको संख्या एक सय पुगेको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका ६० जना, खैरहनी नगरपालिकाका ९ जना, माडीका १ जना, रत्ननगरका १३ जना, राप्तीका ८ जना, कालिका नगरपालिकाका ८ जना र इच्छाकामना गाउँपालिकाका १ जना रहेको कार्यालयले जनाएको छ । जिल्लाका दुई ठूला मेडीकल कलेज, एक सरकारी अस्पताल र पुष्पाञ्जली अस्पतालमा उपचार गरिदै आएको छ ।
यस्तै जिल्लामा सङ्क्रमितको संख्या ६ हजार १ सय ६२ पुगेको छ । सङ्क्रमित मध्ये भरतपुर महानगरपालिकाका ४ हजार ३ सय ८६, खैरहनी नगरपालिकाका ३ सय ९४, माडीका १ सय १७, रत्ननगरका ७ सय ४०, राप्तीका ३ सय ६, कालिका नगरपालिकाका १ सय ८३ र इच्छाकापना गाउँपालिकाका ३६ जनामा रहेका छन् ।
जस मध्ये ५ हजार ७ सय १५ जना सङ्क्रमण मुक्त भई सकेका छन् भने ३ सय ४७ जना बिभिन्न आइसोलेसनमा रहेका छन् ।