चितवन,मंसिर २८ । ८ महिनापछि मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ। कोभिड १९ का कारण बन्द रहेको केबलकार आइतबार खूल्दा यात्रुको भीड लागेको छ।कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बिहान १० बजेसम्म एक हजार जनाले यात्रु चढिसकेको बताए। ‘हामीले केबलकार ९ बजे खोल्ने भनेका थियौं तर यात्रुको भीड देखेपछि साढे ८ बजे नै खोल्यौं,’ उनले भने, ‘हामीले दिनभरिमा १५ सय जना हुने अपेक्षा गरेका थियौं। तर मनकामनाको आस्थाका कारण बिहानै धेरै यात्रुहरु आउनुभयो।’

उनका अनुसार मास्क लगाएर आउने यात्रुलाई मात्रै केबलकार चढ्न दिइएको छ। ‘हामीले सबै स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई केबलकारमा प्रवेश दिएका छौं,’ श्रेष्ठले भने। कम्पनीले नगदरहित कारोबारका लागि इसेवा, फोन पे र खल्तीसँग सम्झौंता गरेको छ। कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मूल ढोकादेखि नै हेल्थ स्क्रिनिङ गरेको उनले बताए। कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको छ।

यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, सेनिटाइजेसनको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार सेनिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध छ।

प्रतिक्रिया दिनुहोस !