चितवनः जिल्लाका बिभिन्न अस्पतलमा उपचारका क्रममा १ सय ६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् ।

जिल्लामा एक केन्द्रीय स्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भईरहेको छ । कतिपयको होम आईसोलेसनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । धेरैको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाहरुबाट समेत संक्रमितहरु उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवन सहित १४ जिल्लाका र छिमेकी देश भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालिबहादुर गण भरतपुरका अनुसार गणले १५८ वटा शवको व्यस्थापन आफैले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

शब व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाईएको छ । गणका अनुसार मृत्यु भएकाहरुमा चितवन बाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । सो जिल्लाका २३ जनाको चितवनका अस्पतालहरुमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १८ जना, रौतहट ५ जना, सर्लाही ४, तनहुँ ३, गोरखा ६, कैलाली २, रुपन्देही २, लम्जुङ २, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ ।
जिल्लामा हालसम्म ५ हजार ९८६ जना संक्रमित भएका छन् । ती मध्ये ९६ जनाको मृत्यु भएको हो । सङ्क्रमित मध्ये ५ हजार ४८७ जना उपचारपछि निको भएका छन् । अहिले ४ सय २ जना बिभिन्न आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचार गर्न आएर कोभिड सङ्क्रमण पुष्टि हुनेमा श्वासप्रस्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मृगौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बिका बिरामीको बढी संख्यामा मृत्यु भएको पाईएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाण्डौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाहरुबाट आउने क्रम बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !