चितवनः चितवन जिल्ला अदालत बार एशोेसिएसनको शुक्रबार राती सम्पन्न २१ औं अधिबेशनले रामकृष्ण अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । राती सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गर्नुभयो ।
एशोेसिएसनको उपाध्यक्षमा मुन्ना विक्रम खाती निर्वाचित हुनुभएको छ । डिएलएका उमेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गर्नुभएको हो । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गर्नुभयो । सचिवमा पिएलएका उमेदवार बिनोद मिश्र विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित हुनुभयो । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याउनुभयो ।
यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित सहसचिवमा शोभा भट्टराई निर्वाचित हुनुभएको छ । चितवन जिल्ला अदालत बार एशोसियसनको २१ औँ जिल्ला अधिवेशसनले २ वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।






