चितवनः जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रफ टाईफस देखा परेको छ । यही अबधिमा डेङ्गु हुनेहरुको संख्या ३३ रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ती मध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रफ टाइफसका ७९ जना रहेका छन् ।अन्य वाहिरि जिल्लाका बिरामीहरु यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखा परेको हो ।
कार्यालयका अनुसार डेंङगु सङ्क्रमित बिरामीहरु भरतपुर महानगरपालिकाका १५ जना, खैरहनी नगरपालिकाका ३ जना, माडी नगरपालिकाका १ जना, रत्ननगर नगरपालिकाका ५ जना, राप्ती नगरपालिकाका १ जना, कालिका नगरपालिकाका २ जना रहेका छन् । भरतपुर महानगरका ४२ जना, खैरहनी नगरपालिकाका १० जना, माडी नगरपालिकाका ७ जना, रत्ननगर नगरपालिकाका १० जना, राप्ती नगरपालिकाका ९ जना र इच्छाकामना गाउँपालिकाका १ जनामा स्क्रफ टाइफस देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक गिता आचार्यका अनुसार गत वर्ष भरिमा जिल्लामा ४ हजार ८ सय ४ जनामा डेङ्गु भएको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको थियो । त्यसै गरी स्क्रफ टाइफस १ सय ३९ जनामा भएकोमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष स्क्रफ टाइफस वढेको छ भने डेङ्गु घटेको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो। यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने गर्दछ ।
यस्तै मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रफटाईफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरिले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने र पेट दुख्ने अग्रहरिले बताउनुभयो ।







