चितवनः जिल्लामा हालसम्म ११६ जना कोरोना भाईरस (कोभिड (१९) संक्रमितको मृत्यु भएको छ । ती मध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् ।
जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाहरुबाट समेत संक्रमितहरु उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालिबहादुर गण भरतपुरका अनुसार गणले १०७ वटा शवको व्यस्थापन आफैले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।
गणका अनुसार मृत्यु भएकाहरुमा चितवन बाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालहरुमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १२ जना, रौतहट ४ जना, सर्लाही ४, तनहुँ, ३, गोरखा ४, कैलाली २, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
जिल्लामा हालसम्म ५ हजार ९२३ जना संक्रमित भएका छन् । ती मध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्यांकलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ । देशभरको कूल संक्रमणबाट मृत्यु भएकाको संख्या ९८४ रहेको छ । जसमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो । नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका संक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कूल मृत्यु संख्या बढी हुन आएको बताउनुभयो ।
यहाँको संघीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाण्डौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाहरुबाट आउने क्रम बढेको उहाँको भनाई छ ।
जिल्लाका अस्पतालहरुले ठूलो संख्यामा संक्रमितहरुको सफल उपचार गरी निको पार्न सफल भएको तिवारी बताउनुहुन्छ । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुकोबीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाई छ ।