चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले लक्षण नभएका कोरोन भाइरस संक्रमितहरुलाई सम्भव भएसम्म होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । आज (सोमबार) स्वास्थ्य उपचार तथा स्वास्थ्य मापदण्ड पालना सम्बन्धि एक सुचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले लक्षण देखिएका संक्रमितलाई मात्र तत्काल अस्पताल जान आग्रह गर्दै लक्षण नभएकाहरुलाई सम्भव भएसम्म सुरक्षित रुपमा घरमै आइसोलेसनमा बस्न आग्रह गरेको हो । होम आइसोलेसनमा बस्न सम्भव नभए स्थानीय तहले स्थापना गरेको आइसोलेसनमा बस्न पनि प्रशासनले आग्रह गरेको छ ।

लक्षण देखिएका संक्रमितलाई भने तत्काल अस्पताल जान आग्रह गरिएको छ । अस्पताल जाँदा निजी सवारी साधन अथवा एम्बुलेन्स प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ । ‘लक्षण देखिएका संक्रमितहरु तत्काल अस्पताल जाने । त्यसरी अस्पताल जानका लागि एम्बुलेन्स वा निजी सवारी साधन प्रयोग गर्ने । संक्रमण देखिएका व्यक्तीहरु जथाभावी हिड्डुल नगर्ने र सार्वजनिक सवारी साधन प्रयोग नगर्ने’, सुचनामा भनिएको छ ।

यस्तै प्रशासनले सेवा लिन आउने बिरामीहरुलाई तत्काल भर्ना लिन पनि अस्पतालहरुलाई आग्रह गरेको छ । भर्ना गरेर उपचार शुरु भएपछि आवश्यकता अनुसार आइसियु वा एचडियु बेडमा सार्न प्रशासनको आग्रह छ । आइसियु वा एचडियु खाली नभइ अन्य अस्पताल पठाउनु परे बेड खाली भए नभएको बारे पहिले नै आवश्यक समन्वय गर्न प्रशासनको आग्रह छ ।

प्रशासनले संक्रमितको उपचार स्थलमा संक्रमण फैलिन सक्ने गरी बिरामीलाई कुरुवासँग प्रत्यक्ष भेटघाट गर्न नदिन अस्पतालहरुलाई सुचित गरेको छ । यस्तै बिरामी कुरुवाहरु पनि संक्रमित हुन सक्ने भएको भन्दै प्रशासनले उनिहरुलाई पनि जथाभावी हिडडुल गर्न नदिन पनि अस्पतालहरुलाई आग्रह गरेको छ ।

प्रशासनको आग्रह अवज्ञा गरी जथाभावी रुपमा सडकमा हिडडुल गर्ने, स्वास्थ्य सम्बन्धि सावधानी नअपनाउने र संक्रमित व्यक्ती नियमित रुपमा काममा जाने गरेको पाइए संक्रामक रोग ऐन २०२० को दफा ३ को १ अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !