चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिलाल तामाङको निधनप्रति नेपाली काँग्रेस चितवनले दु:ख व्यक्त गरेको छ । काँग्रेस चितवनले आज (शनिबार) एक शोक विज्ञप्ति जारी गर्दै तमाङको निधनप्रति दु:ख व्यक्त गरेको हो ।
जिल्ला सह-सभापति समेत रहेका तामाङको निधनको शोकमा भोलि सोमबार एक दिन पार्टी कार्यालय बन्द हुने काँग्रेस चितवनले जनाएको छ । उनको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउँदै भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय भएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तामाङ एक असल राजनीतिक तथा समाजिक व्यक्तित्व भएको भन्दै पार्टीले उहाँको उच्च मूल्यांकन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । काँग्रेस चितवनका सचिव जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर काम गर्नुभएको स्वर्गीय तामाङ एक असल राजनीतिक तथा समाजिक व्यक्तित्व भन्दै पार्टीले उहाँको उच्च मूल्यांकन गर्दछ ।’
कोरोना संक्रमणको कारण तमाङको ६९ वर्षको उमेरमा बिहान ११:३० बजे मृत्यु भएको हो । असोज १४ गते कोरोना पुष्टि तामाङको भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।






