चितवनः जिल्लामा कोरोना संक्रमण वढ्दै गए पनि यहाँका स्थानीय तहहरुमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियान भने जारी राखेका छन् । सामाजिक दुरी कायम गर्दै अभियान जारी राखिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगर र रत्ननगर क्षेत्रमा सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानमा सहभागि हुन आग्रह गरेको छ । सम्बन्धित वडामा पुगेर विवरण दर्ता गर्न नगरबासीलाई अनुरोध गरेको छ । कार्तिक १५ गतेसम्म विवरण दर्ता गर्ने सीमा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरको वडा नम्बर १४ मा संकलनको काम भई सकेको छ भने ३, ५ र १५, रत्ननगरको ८ र ९ नम्बर वडाबाहेक सबै वडामा विवरण दर्ताको काम भैरहेको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गरिने भएकाले सहभागि बनौँ ।”
नागरिकताका आधारमा व्यक्तिगत विवरण, १० औलाको छाप, डिजिटल हस्ताक्षर, फोटो सहितका आवश्यक विवरण संकलन गरिन्छ । विवरण दर्ताका लागि चितवनमा १ सय ८ जना अपरेटर खटिएका छन् ।
कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक सावधानीका उपाय अपनाइएको शर्माले बताउनुभयो । हातमा सेनिटाइजर र मुखमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था छ । ज्वरो जाँच गरेपछिमात्रै विवरण दर्ताको काम हुदै आएको बताउनुभयो । स्टेशनमा खटिएका कर्मचारीलाई मास्क, ग्लोब्स, सेनिटाइजर लगाउदै भौतिक दुरी कायम गरेर विवरण दर्तामा खटिन निर्देशन दिइएको प्रशासन कार्यालयले जनाएको छ ।
उहाँका अनुसार चितवनमा भदौ १५ गतेसम्म ५१ हजार १ सय ७७ जनाले विवरण दर्ता गरेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको फिल्ड कार्यालय चितवनमा असारसम्म १६ हजार ५ सय १५ जना, साउन १७ यता ३४ हजार ६सय ६२ जनाले विवरण दर्ता गराइसकेका छन् । २०७४ सालको मतदाताको आधारमा विवरण केलाउँदा यो संख्या करिब १४ प्रतिशतमात्रै हो । २०७४ सालमा चितवनमा ३ लाख ५४ हजार ३४ जना मतदाता रहेका थिए । फिल्ड कार्यालय चितवनमा २०७६ भदौमा स्थापना भएको थियो । ४ महिनामै जिल्लाका सबैको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिसक्ने लक्ष्य लिइएको थियो ।
“२ स्थानीय तहमा काम सकेपछि अन्य स्थानीय तहमा टोली पठाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयमै आएमा अन्य स्थानीय तहका व्यक्तिले पनि विवरण दर्ता गर्न सक्नुहुनेछ ।” माडी नगरपालिकामा पनि विवरण दर्ता अभियान केही दिन चलेपनि हाल रोकिएको छ । माडीमा अभियान रोकिन पुगेपछि रत्ननगरमा सुरुमा ८ वडामा चलेको अभियानमा क्षेत्र तथा अपरेटर थपेर १५ वडा पु¥याइएको छ । भरतपुरमा १५ हजार ८ सय ७५ जना, माडीमा ४ हजार २ सय १२ जना, रत्ननगरमा ६ सय २५ जनाले विवरण दर्ता गरिसकेका छन् । भरतपुरको १४ नम्बर वडामा ४ हजार २ सय ९० जनाले विवरण दर्ता गराइसकेका छन् । यो वडामा ५ हजार ६ मतदाता रहेका थिए । मतदाता विवरणलाई आधारमान्दा दर्ता भएको विवरण ७६ दशमलव ६ प्रतिशत हो ।
चितवनमा अस्थायी बसोबास गरेकाले बाहिरी जिल्लाकै ठेगाना र विवरण सहित दर्ता गर्न सक्नेछन् । कार्ड बनेपछि सोही जिल्लामा पठाइनेछ । अन्यत्रबाट बसाइसरी आएकाले बसाईसराई गरेको कागजपत्र चाहिन्छ भने यही बसोबास गरी यही जारी भएको नागरिकताको हकमा नागरिकतामात्रै देखाएर विवरण दर्ता गर्न सकिने छ । विवरण दर्ताका लागि सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्नेछ । अभियान चल्नु पहिले फिल्ड कार्यालयमा ६ वटा हेल्प डेस्क रहेकोमा हाल २ मात्र छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको फिल्ड कार्यालयमा जिल्लाका जुनसुकै स्थानीय तहकाले विवरण दर्ता गर्न सक्नेछन् । फिल्ड कार्यालयमार्फत साउनमा ७ सय १४, भदौमा ५० जनाले विवरण दर्ता गरेका छन् । फागुन ५ गते सीप परीक्षणको नतिजा आएसँगै अपरेटरलाई फिल्डमा खटाउन चैत ५ मा तालिम सञ्चालन भएको थियो । लगत्तै कोभिड–१९ को संक्रमणको जोखिम र लकडाउन भएपछि अभियान रोकिन पुगेको थियो ।