काठमाडौंः हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो ।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’
यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गर्नुभएको छ ।
विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले दसैंलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गर्नुभएको छ ।
विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दसैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
देशमा कोरोनाको सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपतिले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।
दसैंका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दसैं उल्लासमय हुने आशा व्यक्त गर्नुभएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्यवस्था गम्भीर बनेका कतिपय सङ्क्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्यवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।






