चितवनः प्राध्यापक डा. कृष्णप्रसाद पौडेलद्धारा लिखित कम्मरी देखि कोभिड कहर सम्म पुस्तक वजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्य संबन्धि जानकारीमूलक यस पुस्तक आज देखि वजारमा आएको हो ।
प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्य सम्बन्धी समस्याहरूको जानकारी दिने यस पुस्तक बजारमा ल्याईएको हो । प्रा.डा.पौडेलद्वारा लिखित उक्त पुस्तक संग्री–ला बुक्सले प्रकाशन गरेको हो ।
जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निबन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो । लेखक पौडेलका अनुसार २२ वटा लेखहरु हाडजोर्नी र नशा सम्बन्धी मात्रै रहेका छन् । अन्य लेखहरु भने समसामयिक स्वास्थ्य सम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।
अर्थाेपेडिक चिकित्सकले नेपाली भाषमा अर्थाेपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो किताब भएको बताउँदै उहाँले भन्नुभयो “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनि लेखिएका छन् । बचपनदेखि बुढ्यौलीसम्म र महिलाहरूका पृथक समस्याहरू यसमा केलाइएका छन् ।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसंगहरू कुनै किताबको सारांश जस्तो नभै लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकोले जो कसैले सजिलै बुझ्न सक्ने उहाँको भनाई छ ।
कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफै समाधान गर्न सकिने प्रा.डा. पौडेलले बताउनुभयो । लेखन कार्यमा रुची राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । सम्पूर्ण किताब नारायणगढ वितरक रहेको यो पुस्तक बजारमा उपलब्ध छ ।
लेखकको यो पुस्तक खुशिहरुको वनवास पछिको दोस्रो हो । लेखक आँफैमा भरतपुर अस्पतालको बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक बिषयको प्रध्यापक समेत रहनुभएको छ । पौडेलले वीपी कोईाला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सा शास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गर्नुभएको छ । उहाँलाई नेपाल अर्थोपेडिक संघको रजत वर्ष वि.सं. २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेसनल अवाड समेत प्रदान गरिएको थियो ।






