चितवनः वजारमा नक्कली नोटको बिगबिगि देखिन सुरु गरेको छ । जिल्लाको पूर्बी क्षेत्रमा नक्कली नोटको समस्या देखिन थालेको हो ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले रु ३ लाख २१ हजार नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालीका वडा नम्बर ८ का २६ वर्षीय जीत वहादुर लोप्चन रहेका छन् ।
प्रहरीले मंगलबार राप्ती नगरपालिका वडा नम्बर ५ चौकीडाँडाबाट उनलाई पक्राउ गरेको हो । नक्कली नोटको कारोवार भईरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।
कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार पक्राउ पर्दा लोप्चनको साथबाट रु १ हजारको १२ थान नक्कली नोट वरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु १ हजार र वर्तौला किराना पसलमा खाध्यन्न सामान किने वापत तिरेको रु ६ हजार समेत नक्कली रहेको प्रहरीले जनाएको छ ।
अन्य रकम लोप्चनको घरमा लुकाई राखेको अबस्थामा वरामद गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङका अनुसार घरबाट रु तीन लाख दुई हजार वरामद गरिएको थियो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धि कसुरमा समय थप गरि अनुसन्धान सुरु गरेको छ । यस कसुरमा १० वर्ष सम्म कैद वा रु १ लाख सम्म जरिवानाको व्यवस्था रहेको छ । उनी संग सम्लङ्न दुई जनाको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका लोप्चनले आँफुले गाँजाको व्यवसाय गर्दा खरिद गर्ने व्यक्तिले नक्कली नोट दिएको प्रहरी समक्ष वयानमा वताएको गुरुङले बताउनुभयो । चाड पर्ब संगै कोरोनाको सङ्क्रमणको समयमा वजारमा नक्कली नोट देखिनुले अहिले सांगठित रुपमा अपराध भईरहेको प्रहरीको अनुमान छ । हेर्दा सक्कली जस्तो देखिने सक्कली भन्दा केही गरुङ्गो, सेक्युरेटी थ्रेट नभएको, कागजको गुणस्तर नभएउको, वाटर मार्क नभएको हुने भएकाले प्रहरीले सबैलाई सजगता अपनाउन आग्रह गरेको छ । शंका लागेमा प्रहरीलाई खवर गर्न समेत अनुरोध गरिएको छ ।