जफत गरिएको प्याज बिक्रि

काठमाडौः बजारमा कृतिम अभाव सिर्जना गरि कालोबजार गर्ने व्यापारीबाट जफत गरेको प्याज अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेचिरहेको छ ।

कम्पनीले पछिल्लो तीन दिनमा ९ हजार किलो प्याज ६० रुपैयाँ प्रतिकेजीका दरमा बेचेको हो । खाद्यले जफत गरिएको प्याजबाट ५ लाख ४० हजार रुपैयाँ कमाइ गरेको छ । नजिकिदै गरेको दसैँलाई लक्षित गरेर १ सय ५० देखि २ सय रुपैयाँसम्ममा विक्रेताले प्याज बेच्न थालेपछि अनुगमन टोलीले प्यास जफत गरेको थियो ।

महँगोमा प्याज किनिरहेका ग्राहकले सस्तोमा प्याज पाउने भएपछि कम्पनी तथा विभिन्न बिक्रीकक्षमा लाइन लागेरै भए पनि प्याज किनेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले सस्तोमा प्याज बेच्न सुरु भएपछि ग्राहक अत्याधिक बढेको बताउनुभयो ।

उहाँले अनुगमनबाट जफत गरिएका करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको प्याज बिक्री गरिसकेको बताताउनुभयो । अझै ५ हजार किलो प्याज बेच्न बाँकी रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार खाद्यले बजार अनुगमनबाट कालोबजारी गर्नेहरूको १४ हजार किलो प्याज जफत गरेको थियो । खाद्यले प्याजको अभाव नहास् भन्ने हेतुले प्रतिव्यक्ति ३ केजीका दरमा प्याज बेच्दै आएको छ ।