
कैलालीः जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ बोगटी चोकस्थित कृष्ण सिंहको घर कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ७५ हजार दुई सय १० रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँले दुई गड्डी ताससहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३४ वर्षीय रामबहादुर ऐर, भिमदत नगरपालिका–६ का ४३ वर्षीय जनकराज जोशी, बझाङको केदारस्युँ गाउँपालिका–४ का ३३ वर्षीय नरेन्द्र मल्ल, २८ वर्षीय मिलन भण्डारी, धनगढी उपमहानगरपालीका–२ का ४० वर्षीय पवन भाट रहेका छन् ।
यस्तै, सोही ठाउँकी २७ वर्षीया नितु चन्द, ३८ वर्षीय दिलबहादुर सिंह, ३८ वर्षकै शेरबहादुर साउँद र चुरे गाउँपालिका–३ का ३८ वर्षीय नरबहादुर धामी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।