बुटवलः रूपन्देहीमा शुक्रबार राति आएको बाढीले चार घर बगाएको छ । प्रहरीका अनुसार बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर बगाएको हो ।

मध्यरातिबाट बिहानसम्म प्रहरी उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन । बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो ।

त्यस्तै, तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । चौरङ्गे खोलामा आएको बाढीले देवदह–१० का रामबहादुर श्रेष्ठको एक तले घर बगाएको छ ।

तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले तीन वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको हो ।

तिलोत्तमा– ८ को सत्कुलो नहरको पानीको बहाव बढेर घर भत्काएको प्रहरीले जनाएको छ । अविरल वर्षाकै कारण बुटवल–पाल्पा खण्डको आधा दर्जन बढी स्थानमा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनाउ गाँउपालिकाको चरचरे, पावरहाउस, पानीमिलसहित गौडेको पुलनजिकै पहिरो खसेर सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा भने एकतर्फी सडक सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस !