चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसे संगै सडक पुनः अबरुद्ध भएको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राती ९ः२० वजे पुन पहिरो खसे संगै सडक अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार राती लेदो सहितको पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० वजे पहिरो खसेको थियो पहिरो पन्छाए संगै साँझ सातबजेबाट सडक सञ्चालन गरिएको थियो ।
यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राती नै सडक एकतर्फी सञ्चालनमा आएको छ । साँझ ६ः३० वजे पहिरो खसे संगै अबरुद्ध सडक रातीनै पहिरो पन्छाएर संञ्चालनमा ल्याईएको हो ।
केही दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।