कञ्चनपुरः सामूहिक जबर्जस्तीकरणी मुद्दाका फरार कञ्चनपुरका २ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
स्थानीय युवतीलाई जबरजस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ साल २८ असारमा जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो ।
घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेस गरेको छ । रासस







