चितवनः घडिले करिब १२ वजाउन लागेको थियो । निषेधाज्ञाको समय चर्को घामको कुनै प्रबाह नगर्दै वेबारिसे तथा भोकाएका व्यक्तिहरु नारायणी किनार तर्फ लम्कदै थिए ।

काम गुमाएसँगै मामको समस्या पर्नेहरु यतिबेला नारायणी किनारमा धाउन थालेका छन् । नारायणी किनारमा भोकाहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्याला मजदुरी गर्नेहरु भोकलागेसँगै नारायणी किनार जान थालेका हुन् ।

सरकारले गत चैतमा लगाएको लकडाउनपछि नियमित काम नपाएसँगै असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरु भोक मेटाउनका लागि नारायणी किनारमा जाने गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ वेलचोकमा बसोबास गर्दै आउनु भएका विष्णु गुरुङ् अहिले नियमित जसो नारायणी किनार पुग्नु हुन्छ । उहाँ निषेधाज्ञासँगै बस्नका लागि ठाउँ भए पनि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । उहाँ अहिले पेट पाल्नका लागि वेवारिसे व्यवस्थापन तथा पुन जीवन केन्द्रले भदौ ५ गतेदेखि सञ्चालन गरेको सडकका वेवारिसेहरुलाई निःशुल्क खाना बितरण कार्यक्रममा पुग्ने गर्नु भएको छ ।

धादिङ् घर भई विगत ९ वर्षदेखि नारायणगढमा ज्याला मजदुरी गरेर बस्ने गुरुङ्ले भन्नुभयो “काम पाउन छाडियो । कसैले काम दिँदैन । बन्दले गर्दा पेट पाल्न कठिन भयो ।” अहिले लामो दुरीको सवारी साधन सञ्चालनमा नआउँदा काम नपाएको उहाँको गुनासो छ । गुरुङ्ले भन्नुभयो “काम नपाए पछि घरभाडा समेत तिर्न कठिन भएको छ ।” उहाँ विगत १२ दिनदेखि केन्द्रले सञ्चालन गरेको खाना वितरण कार्यक्रममा गएर खाना खाने र फर्कने गर्नुभएको छ । “काम पाए यहाँ आएर खान किन पथ्र्याे र ?” उहाँको प्रश्न थियो ।

नारायणगढ बजारको कमलनगरमा भाडामा श्रीमानसँग बस्दै आउनु भएकी देवी मगर श्रीमानको काम नभए पछि खाना खान र बस्नका लागि समस्या भएको बताउनुहुन्छ । श्रीमानले ज्याला मजदुरी गरेर ल्याएको खर्चले घर चलाउनु पर्ने भए पनि काम नपाएपछि खानलाई समस्या आउँदा नारायणी किनार आउनु परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “घरधनीले कोठा खाली गर्न भनेका छन्, अब कहाँ जाने हो थाहा छैन ?” उहाँका श्रीमान् कामको खोजीमा गाउँतर्फ जानु भएको छ । उहाँले भावुक हुँदै भन्नुभयो “श्रीमान काम खोज्न गाउँमा गए पनि के खाए थाहा छैन ।”

गोर्खा घर भई मजदुरी काम गर्दै आउनु भएका रामबहादुर नेपाली काम कसैले नदिदा वेसाहारा भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “काम पाईदैन खाने के हो थाहा छैन ।” विगत १० वर्षदेखि यहाँ आएर काम गरेर आफ्नो जीवन पाल्दै आउनु भएका ३५ वर्षीय नेपाली अहिले सडकमा कवाडी टिप्ने काम पनि पाउन कठिन भएको बताउनुहुन्छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा घर जान नपाएर यहाँको सडकमा आउनु भएको छ काकडभित्ताका ५३ वर्षिय देविप्रसाद अधिकारी । अधिकारी पारिवारिक कामले चैत ११ गते चितवन आई पुग्नु भएको थियो । उहाँले यहाँ आएसँगै संघीय सरकारले गरेको लकडाउन र त्यसपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण घर जान नपाएको गुनासो गर्नुभयो । “सडकमा बस्न मन छैन । जाउँ कहाँ जाउँ । घरसम्म पुग्न पाए हुन्थ्यो” उहाँले भन्नुभयो ।

यस्तै ८७ वर्षिय वृद्ध रामसिंह गिरी भदौ ५ गतेदेखि नै यहाँ आएर खाना खान थाल्नु भएको छ । उहाँको अहिले बस्ने ठाउँ र खाने व्यवस्था पनि छैन । उहाँको दैनिकी आज भोलि सडकको पेटीमा बित्ने गरेको छ । “पहिले माग्न जाँदा दिन्थे खान समस्या हुन्थेन” उहाँले भन्नुभयो “माग्न जाँदा पनि कोरोना ल्याउँछस् भन्छन् ।” सुरुवाती समयदेखि नै यहाँ खाना खादै आएको भए पनि बस्नका लागि समस्या हुने गरेको उहाँको गुनासो छ ।

वेवारिसे व्यवस्थापन तथा पुन जीवन केन्द्र चितवन शाखाका सहसंयोजक प्रकाश थापाले अहिले विहानमा दैनिक ३ सय र साँझमा दैनिक २ सय जनालाई खाना खुवाईदै आएको जानकारी दिनुभयो । भदौ ५ गतेदेखि नियमित रुपमा खाना खुवाउँदै आएको उहाँको भनाई छ । “सामाजिक व्यक्तित्वहरु, जन्मदिन र बिशेष अवसरको समयमा गरिएको सहयोगले अहिलेसम्म निःशुल्क खाना खुवाउन सकिएको छ” उहाँले भन्नुभयो ।

यहि असार महिनामा जिल्लामा शाखा स्थापना भएको यस संस्थाले वेवारिसेको शव व्यवस्थापन, उद्धार र उद्धारपछि व्यवस्थापन गर्दै आएको छ । संस्थाको रामनगरस्थित ठिमुरामा रहेको बा आमाको घरमा तीन जना वेवारिसेहरु रहेका छन् । नारायणी तिरमा एक वेवारिसेको उद्धार गर्न आएको समयमा धेरैले लामो सयदेखि खाना खान नपाएको गुनासो गरेसँगै आफुहरुमा यो सोच आएको थापाको भनाई छ ।

उहाँले भन्नुभयो “रोगले भन्दा भोकले मान्छे मर्छन्की भन्ने चिन्ता वढ्यो ।” यो अभियान भदौ ३१ गतेसम्म जारी रहने उहाँले बताउनुभयो । नारायणी किनारमा पुग्ने भोको पेट भएका जोकोहीलाई खानाको व्यवस्था गरिएको छ । नारायणी नदीको खुल्ला आकाशमुनि दूरी कायम गर्दै लामबद्ध भोकाहरुलाई संस्थाले खाना खुवाउँदै आएको छ । हरेक दिन मध्यान्ह १२ बजे र साँझ ७ बजे खाना खाने समय तय गरिएको छ ।

मनकारीहरुका सहयोगीहरु र संस्थाको समन्वयमा भएको यो मानवीय कार्यमा सहयोग जुटेमा भोकाहरुको पेट भर्न समस्या नहुने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !