चितवनः कोरोना सङ्क्रमणका कारण देश आक्रान्त वनिरहेको समयमा चितवन राष्ट्रिय निकुञ्जमा भने गैडा तस्करको आखा पर्न थालेको छ । निकुञ्जमा तीन वर्ष पछि तस्करले दुर्लभ एक सिंगे गैंडा शिकारीले गोलि हानी मारेका छन् । दुई गोलि लागेको र पछाडी धारिलो हतियार प्रहार गरेको अबस्थामा एक भाले गैंडा मृत अबस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शंङ्कास्पद अबस्थामा मृत गैंडा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको थियो । बरालले भन्नुभयो “खाग र खुर भने सुरक्षित भेटियो ।”उहाँले थप्नुभयो “शङ्कास्पद भयो । तस्करले होईन भन्न सक्ने अबस्था रहेन ।”
तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ । वि. सं. २०७३ साल चैतमा जगतपुरको एक सामुदायीक वनमा तस्करले गैंडा मारे यता हाल सम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन । निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अबस्थामा गैंडा भेटिएको थियो ।
मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए । तीन देखि चार ईन्चका ती प्वाल के कति कारणले भएको एकिन नभएको उहाँले जानकारी दिनुभयो । करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ । तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् ।
खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय वनेको छ । निकुञ्जमा साउन यता प्राकृतिक कारणले तीन गैंडा मरेका छन् । शशस्त्र द्धन्द्धको समयमा तस्करले एकै वर्षमा ३६ वटा सम्म गैंडा मारेका थिए । पछिल्ला वर्षहरुमा निकुञ्जले नयाँ नयाँ रणनितीका साथ सुरक्षा व्यवस्था मजबुत वनाए पछि तस्करले गैंडा मार्न नसकेका हुन । गत आर्थीक वर्षमा गैंडाको गणना गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा रहेका छन् ।