चितवनः स्थानीय तहले सिफारिस गर्दा धेरै रकम लिएको भन्ने गुनासो चलिरहेका वेला भरतपुर महानगरपालिका वडा नम्बर ११ ले भने घरमानै बसेर कोरोना बिमाको निशुल्क सिफारिस दिने सम्मको व्यवस्था गरेको छ । कोही सङ्क्रमित भएर आईसोलेसनमा बसेका, ट्रेसिङ्मा परेका, वडा कार्यालयल जान अफ्ठ्यारो भएका र ईन्टरनेट एबं सामाजिक सञ्जालको पहुँचमा भएकाहरुलाई कार्यालय जानु नपर्ने भएको हो ।
वडा अध्यक्ष वाबुराम अधिकारीले यो बिषम परिस्थितिमा वडा वासिलाई सकेसम्म सजिलो पारिने वताउनुभयो । उहाँले भन्नुभयो “हामी कोरोना बिमाको सिफारिस निशुल्क गछौं । आवश्यक काजग पठाउन सक्नुहुन्छ भने कार्यालय आउनु पर्दैन ।” बिहान सवेर देखि राती अवेर सम्म कोरोना नियन्त्रण अभियानमा जुट्दै गर्दा पनि रोग नियन्त्रण गर्न नसकीएको भन्दै उहाँले वडाले दिने सेवा सुबिधा र सहयोगका लागि सधै तयार रहेको बताउनुभयो ।
सबैको साथ र सहयोगले मात्र रोग नियन्त्रण गर्न सकीने उहाँको भनाई छ । वडा सचिब ओमप्रकाश न्यौपानेले कोरोना बिमाका लागि नागरिकता वा बच्चाको जन्मदर्ता ईमेल वा सामाजिक सञ्जाल मार्फत पठाएमा सिफारीस घरमानै पठाईने बताउनुभयो । नागरिकता वाहिरको भएमा सम्बन्धित टोलको सिफारीस पनि आबश्यक हुने उहाँको भनाई छ ।
अन्य कामका लागि पनि सम्भव भए सम्म सहजीकरण गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको सिफारिसमा रु ३ सय तिरेर एक लाखको कोरोना बिमा गर्न सकीन्छ । सिफारिस नभएमा सोही बिमाको शुल्क रु ६ सय पर्छ । जिल्लामा सबै भन्दा वढि संक्रमण भरतपुर महानगरमा रहेको छ । महानगरको पनि अत्याधिक सङ्क्रमित भएको वडा भरतपुर ११ हो । सो वडामा हाल सम्म ५ जनाको मृत्यु भईसकेको छ ।