ताप्लेजुङः अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधीन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवनमाथिबाट पहिरो झरेको थियो ।
पावर हाउसमा लिम्बू र थेवे अपरेटरको काम गर्दै आएका थिए । पहिरोले पावर हाउस नै बगाएको छ । इलाका प्रहरी कार्यालय तेल्लोकवाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत घटनास्थल गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।